झापामा यात्रु सहायता कक्ष उद्घाटन
बिर्तामोड । चाडपर्व नजिकिएसँगै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष उद्घाटन गरिएको छ । मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकरभिट्टामा यात्रु सहायता कक्ष उद्घाटन गरेका हुन् ।
चाडपर्वको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने हुँदा उनीहरुको सुरक्षा, सुविधा र सहज आवागमनका लागि यात्रु सहायता कक्षको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
चाडबाडको मौका छोपी सवारीसाधनले बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने आदि समस्या हुने र दुर्घटनासमेत बढी हुने सम्भावनालाई नियन्त्रण गर्न सहायता कक्ष आवश्यक भएको उनले बताए ।
झापाको काँकरभिट्टा, बुधबारे, चन्द्रगढी, बिर्तामोड नयाँ बसपार्क, बिर्तामोड पश्चिम स्टेण्ड र दमक गरी ६ ठाउँमा सहायता कक्ष रहने प्रहरी नायव निरीक्षक पुर्ण गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी प्रजिअ बास्तोला, अतिथीहरु सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, यातायात व्यवसायी संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।