सौर्य एयर दुर्घटनामा व्यवस्थापनको दोष देखाउँदै दुर्घटनाका परिवार
झापा । सौर्य एयरलाइन्स दुर्घटनाका परिवारले विमान दुर्घटनाको दोषी एयरलाइन्सको व्यवस्थापन पक्ष भएको बताएका छन् । बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मर्मत गर्न लगिएको जहाजमा नियम विपरीत मान्छे बोकेर मृत्युको मुखमा पुर्याएको बताएका हुन् ।
३४ दिनदेखि ग्राउण्डेड २१ वर्ष पुरानो जहाज मर्मत नगरी कसरी उडान भर्न योग्य भयो भन्दै उनीहरुले प्रश्न समेत गरेका छन् ।
दुर्घटनाका परिवार प्रकाश खतिवडाले डुब्नै लागेको जहाज कम्पनीको व्यवस्थापन पक्ष दुर्घटनाको मौका छोपी लासको व्यापार गर्न खोजिरहेको आरोप लगाएका छन् ।
यस्तै उनले एयरलाइन्स व्यवस्थापन पक्ष दुर्घटना अनुसन्धान आयोगलाई समेत आर्थिक प्रलोभनमा पारेर आफू अनुकूलको प्रतिवेदन तयार पार्ने भूमिकामा लागेको आरोप लगाएका छन् ।
खतिवडाले दुर्घटनामा जीवन गुमाएका आफ्ना सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूको नाममा सामाजिक कार्य गर्ने उद्देश्यले मनुराज, अधिराज, प्रिजा स्मृति समाज बनाएको बताएका छन् ।
साउन ९ गते मर्मतका लागि पोखरातर्फ उडेको सौर्य एयरको विमान काठमाण्डौ एयरपोर्ट नजिकै दुर्घटना हुँदा एक विदेशी नगरिकसहित १८ जनाको मृत्यु भएको थियो । विमानका चालक मनिषरत्न शाक्यको भने जिवितै उद्धार गरिएको थियो ।