घुससहित पक्राउ परेका वडाध्यक्षलाई अख्तियार कार्यालय लगियो
बिर्तामोड । मंगलबार दिउँसो घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका बुद्धशान्ति–२ झापाका वडाध्यक्ष डिल्लीप्रसाद (गोपाल) ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगिएको छ ।
उनलाई बिर्तामोडको हनुमान सेन्ट्रलमा घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले कानुनी प्रक्रिया पुरा गरी मंगलबार राति लिएर गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनले अमरनाथ चौहानलाई घरजग्गा बाटोको सिफारिस उपलब्ध गराउन डेढ लाख रुपैँया घुस मागेको बताइएको छ । मंगलबार ८० हजार रुपैँया घुस सहित उनी पक्राउ परेका थिए ।
ओलीले घुस मागेको घटना बाहिरिएपछि नेकपाका प्रदेश समिति सदस्य अर्जुन पाण्डे नेतृत्वको टोलीले अपरेशन चलाएको नेकपाका केन्द्रिय सदस्य सुमन सिंह सीले जानकारी दिए । उनले बुझिलिएका सम्पूर्ण नोटहरुको नम्बर अग्रिम नोट गरिएको र घटनाको अडियो भिडियो सुरक्षित गरिएको नेकपाका झापा सेक्रेटरी सञ्जय सीले जानकारी दिए । अपरेशनको क्रममा प्रदेश समिति सदस्य हुकुम सीलगायतको सहभागिता रहेको उनले बताए ।