संविधान दिवसमा बिर्तामोडमा दीप प्रज्वलन
बिर्तामोड । नवौँ संविधान दिवसको अवसरमा झापाको बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझ बिर्तामोडको मुक्तिचोकमा नेकपा माओवादी केन्द्रले दीप प्रज्वलन गरेको हो ।
१० बर्षे जनआन्दोलनको उपलब्धिको रुपमा संविधान जारी भएपछि असोज ३ गतेलाई संविधान दिवस मनाइएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले बताए ।
उनले संविधान पूर्ण कार्यान्वयनमा नगई संविधान संसोधन गर्ने भन्दै जनतालाई भ्रममा पारी पुरानै व्यवस्थातर्फ मुलुकलाई धकेल्न खोज्नेहरुका लागि खुल्ला चुनौती रहेको समेत उनले बताए ।
कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता लोकबन्धु कन्दङबाले संविधानको जन्म दिनको रुपमा संविधान दिवस मनाईएको बताए । मुलुकमा जारी २०७२ को संविधानले पिछडिएको जातजाती, वर्ग, संस्कृति, दलित, आदिवासी जनजाति, मजदुर, महिलाआदिको पक्षमा उल्लेख्य अधिकार दिएको उनले बताए । संविधान च्यात्न खोज्नेहरु नै मुलुकको कार्यकारी ठाउँमा हुनु दुखद भएको उनको भनाई थियो ।
माओवादी केन्द्रले मुक्तिचोकमा रहेको नेपालको पुरानो झण्डासमेत फेरेको छ । उनीहरुले नेपालको नक्सा बनाएर त्यसमा दीप प्रज्वलन गरेका थिए भने नाचगान गरेर रमाइलोसमेत गरेका थिए । कार्यक्रममा बिर्ता युथ स्काउट क्रुको समेत सहभागिता थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा इञ्चार्ज झलकसिं दर्लामी (सन्देश), केन्द्रिय सदस्य हरि राना, ज्योतिसिं दर्लामी, प्रदेश सदस्यहरु भवानी दंगाल (भानु), कुबेर श्रेष्ठ (अरुण) लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम अनेरास्ववियु (क्रान्तिकारी) झापाका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य रञ्जन धमलाले सञ्चालन गरेका थिए ।
सोहि स्थलमा उपस्थित नेकपा एमालेका केहि नेता कार्यकर्ताहरुले समेत दीप प्रज्वलन गरेका छन् । उनीहरुले सूर्य र नेपालको झण्डा बनाएर दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतको सहभागिता थियो ।
यता पूर्व मै पहिलो पटक अटिजम भएका बिद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको बिर्तामोड ४ भद्रपुर रोडस्थित एक किलोमिटरमा रहेको किण्डर बेल प्रि स्कुल एण्ड चाइल्ड केयर सेन्टरले समेत विद्यालय प्राङ्गणमा दीप प्रज्वलन गरेको छ । नेपालको आकृति र झण्डा बनाएर उनीहरुले दीप प्रज्वलन गरेका थिए । बालबालिकाहरुलाई सानै देखि ऐतिहासिक बिषयको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक भिम बोहोराले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।