झापा ट्राफिकको राजश्व रकम बढ्यो
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा ६६ लाख १५ हजार रुपैँया राजश्व संकलन गरेको छ ।
ट्राफिक प्रहरीले उठाएको यो राजश्व रकम गत आर्थिक बर्ष ०७९/८० को भन्दा ९ लाख १६ हजारले बढी हो ।
ट्राफिकले नियम विपरित चलाइएका सवारी साधनहरुलाई गरेको कारबाहीबाट सो राजश्व संकलन गरेको हो ।
कार्यालयले साउन महिनामा ३५ लाख २६ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको जनाएको छ । यो ५२८४ वटा सवारी साधनलाई गरेको कारबाहीबापत संकलित रकम हो ।
त्यस्तै कार्यालयले भदौ महिनामा ४४८५ वटा सवारी साधनलाई कारबाही गर्दा ३० लाख ८८ हजार ५ सय रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रहरी निरीक्षक प्रमुख गणेश पौडेलले जानकारी दिए ।
ट्राफिक प्रहरीले सबैभन्दा धेरै राजश्व १० लाख ५ हजार ५ सय रुपैँया कार, जीप र भेनलाई गरेको कारबाहीबाट संकलन गरेको छ । यो अवधिमा १६८४ वटा कार, जीप र भेन कारबाहीमा परेका छन् भने सबैभन्दा कम १७४ वटा टीपरलाई गरेको बारबाहीबाट १ लाख १७ हजार ५ सय रुपैँया राजश्व संकलन भएको कार्यालय प्रमुख पौडेलले बताए ।