अस्पतालबाट कैदी फरार भएपछि छानबिन समिति गठन
बिर्तामोड । उपचारका लागि ओम साई पाथिभरा हस्पिटल भर्ना भएका एक जना कैदी फरार भएपछि छानबिन समिति गठन गरिएको छ । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार राति प्रहारीलाई छक्याएर अस्पतालबाट फरार भए पछि छानबिन समिति गठन गरिएको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागार चलान गरेको थियो ।
छातिमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।
उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका थिए । साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादब, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए ।
उनीहरूलाई साहकी श्रीमतीले मादकपदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कूटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ ।
उनी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहनेगरी समिति गठन भएको प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
फरार भएका साह भद्रपुर–३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ । उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ । भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलको दुई नम्बर क्याबिनमा बसेका थिए । उनी शौचालय जाने वहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ ।
उनको खोजीमा प्रहरी परिचालन भइसकेको र चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक केसीले बताए ।