एमाले-कांग्रेसलाई मूलधारमा ल्यायौं : प्रचण्ड
बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-कांग्रेसलाई आफूहरूले मूलधारमा ल्याएको बताएका छन्। आइतबार झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।
'माओवादीलाई मूलधारमा ल्यायौं भनेर हाँस्यास्पद अभिव्यक्ति दिन्छन्,' उनले भने, 'वास्तवमा एमाले-कांग्रेसलाई माओवादीले मूलधारमा ल्याएको हो।' माओवादी अन्य दलहरुको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको एजेण्डामा नगएर माओवादीको संघीयता, गणतन्त्र लगायत एजेन्डाहरूमा एमाले-कांग्रेससहित अन्य दलहरू आएकाले माओवादीलाई मूलधारमा ल्यायौं भन्नु हास्यास्पद रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।
अध्यक्ष प्रचण्डले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताए। 'नेपालको भूरजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनैतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया छ,'उनले भने । आन्तरिक शक्तिहरू कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहने भएको बताउँदै हिजो दुई तिहाई भएकै बेला एमालेले संविधान च्यात्न खोजेको बताए । संविधान को प्रस्तावनादेखि मौलिक हकसम्म नै माओवादी, सशस्त्र संघर्षजस्ता शब्दावली उल्लेख भएकाले एमालेलाई त्यो पाच्य नभएको प्रचण्डको भनाई थियो ।
उनले एमालेसँग सत्ता सहकार्य गरेको बेला सुधार गर्ने धेरै कोसिस गरेपनि सफल नभएको बताए । 'गधालाई धोएर गाई नहुँदो रहेछ, एकपटक धोएपछि छोड्नु नि हामी पनि पटकपटक धुनेतिर लाग्यौ,' उनले भने ।