मार्क्सवादी ज्ञानकेन्द्र कोशीमा कडरिया
बिर्तामोड । मार्क्सवादी ज्ञानकेन्द्र कोशी प्रदेश अध्यक्षमा मोरङ्की सीता कडरिया चयन भएकीछन् । शुक्रबार साँझ भएको दोस्रो भर्चुअल भेलाबाट कडरिया अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव), सचिवमा मोरङका गिताप्रसाद श्रेष्ठ, सहसचिवमा पाँचथरकी मनिषा आचार्य र कोषध्यक्षमा मोरङका जीवनाथ कट्टेल चयन भएका छन् ।
सदस्यहरु पाँचथरबाट दिनेश लावती, ताप्लेजुङबाट ताइवान मादेन, झापाबाट कमलप्रसाद कडरिया, उदयपुरबाट रमेश लामिछाने, धनकुटाबाट महेन्द्र न्यौपाने, मोरङबाट मित्रलाल भट्टराई, सुनसरीबाट लक्ष्मी प्रधान, मोरङबाट बेदनिधी कार्की (डोली), सुनसरीबाट अर्जुन पौडेल, पाँचथरबाट पुण्यप्रसाद दुलाल र खोटाङबाट टंक थापा चयन भएको झापा अध्यक्ष कमलप्रसाद कडरियाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले कम्युनिष्टहरुले मार्क्सवादी सिद्धान्तलाई गहनताका साथ अंगाल्न नसकेको, बोलीलाई व्यवहारमा उतार्न नसकेको, धेरै बोल्ने तर काम कम गर्ने गरेका कारण जनविश्वास खस्कँदै गएको भन्दै व्यापक दबाव सिर्जना गर्न मार्क्सवादी ज्ञान केन्द्रलाई सुझाव दिए ।
त्यस्तै कार्यक्रमका विशेष अतिथी नेकपा समाजवादीका प्रदेश सचिव महेश रेग्मीले नेपाली मोडेल अनुसारको समाजवादी निर्माणका लागि कम्युनिष्ट पार्टीहरुबिच ध्रुविकरण आवश्यक भएको औँल्याए । मार्क्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिम्सिनाले मार्क्सवादी ज्ञान केन्द्र कुनै खास कम्युनिष्ट पार्टीको सिमित घेराभन्दा माथि उठेको संगठन भएको बताए ।