बिर्तामोडमा नीति छ कार्यान्वयन छैन, नवीकरणीय उर्जामा करोडौँ डुबाएर फोहोर व्यवस्थापनका लागि अलग्गै जग्गा खरिद गरिने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले बर्षेनी सार्वजनिक गर्ने नीति तथा कार्यक्रम बर्षौदेखि हुबहु जस्तै छन् । पालिकाले कतिपय नीति निर्माण गरेपनि कार्यान्वयन भने गर्न सकेको छैन ।
हालका नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईद्वारा प्रस्तुत भएको नीति तथा कार्यक्रम यो तेस्रो पटक हो । उनले आव २०७९/०८० मा १६ वटा, २०८०/०८१ मा १५ वटा र चालु आवका लागि १४ वटा विभिन्न शिर्षकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । उनले प्रस्तुत गरेको तीन बर्षकै नीति तथा कार्यक्रममा सामान्य फेरबदलबाहेक हुबहु ‘कपी पेष्ट’ गर्ने गरेको पाइएको छ ।
तीन बर्षदेखि निरन्तर वन, वातावरण तथा विपद् व्यवस्थापन नीति अन्तर्गत टोल विकास संस्थाहरुसँग सहकार्य गरी फोहोरमैलाको वर्गीकरण र कुहिने, प्लाष्टिकजन्य र सिसाजन्य फोहोर छुट्याएर राख्ने अभियान सञ्चालन गर्ने नीति उल्लेख गरिएपनि प्रभावकारी हुन सकेको छैन । नगरपालिकाले स्पष्ट कार्यक्रम अगाडी सार्न नसक्दा यहाँको फोहोर वर्गीकरण हुन सकेको छैन ।
सोहि नीति अन्तर्गत बिर्तामोड नगरपालिकाले यहाँबाट निस्कने फोहोर दीर्घकालिन व्यवस्थापनका लागि कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीमा करोडौँ रुपैँया लगानी गर्यो । तर कार्यान्वयन तह फितलो हुँदा नगरपालिकाले त्यहाँ लगानी गरेको २ करोड ५४ लाख रुपैँया डुब्ने अवस्थामा पुगेको छ । नगरपालिकाको फोहोर उक्त कम्पनीले व्यवस्थापन गर्न नसकेपछि चालु आवको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२० मा ‘नगरभित्र उत्पादन हुने फोहोरमैला व्यवस्थापनका लागि बैकल्पिक व्यवस्थापन गर्न उपयुक्त स्थानमा जग्गाको खोजी गरी खरिद गर्ने प्रक्रिया अगाडी बढाइनेछ’ उल्लेख गरिएको छ ।
नवीकरणीय उर्जा कम्पनीमार्फत फोहोर व्यवस्थापन हुने नदेखेपछि बिर्तामोड नगरपालिकाले अलग्गै जग्गा खरिद गर्ने कार्यक्रम अगाडी सारेको हो ।
केहि राजनीतिक दलले करोडौँ रकम ऐन विपरित निजी कम्पनीमा लगानी गर्न नहुने सुझाव दिँदा दिँदै बिर्तामोड नगरपालिकाले २ करोड ५४ लाख रुपैँया सो कम्पनीमा लगानी गरेको थियो ।
कतिपय नीतिमा उल्लेख गरिएपनि कार्यक्रम भने हालसम्म नगरेको समेत पाइएको छ । (सुशासन तथा) विज्ञान, प्रविधि, सूचना र सञ्चार नीति अन्तर्गत स्थानीय सरकारले गरेको काम सञ्चारमाध्यममार्फत प्रकाशन प्रसारण गरेबापत बार्षिक रुपमा पुरस्कृत गरिने उल्लेख भएपनि पाँच बर्षयता एकै जना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छैन ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा ध्रुवकुमार शिवाकोटी नगर प्रमुख रहेको बेला नगरपालिकाले ‘उत्कृष्ट नगर विकास पत्रकारिता पुरस्कार’बाट तत्कालिन मेची खबर साप्ताहिकका सम्पादक राजु पाठक, जय लोकतन्त्र साप्ताहिकका सम्पादक कृष्ण हुमागाईं र ‘उत्कृष्ट सञ्चारमाध्यम पत्रकारिता पुरस्कार’बाट कञ्चनजंघा एफएमलाई पुरस्कृत गरेको थियो । तर त्यस यता प्रत्येक बर्षको नीति तथा कार्यक्रममा यो बिषय समेट्ने गरिएपनि कसैलाई पुरस्कृत गरिएको छैन ।
पालिकाले योजना छनौट गर्दा अघिल्ला बर्षहरुमा नै माग भइ संग्रहित योजनालाई प्राथमिकता नदिइ पहुँचका भरमा योजना छनौट गर्ने गरेको पाइएको छ । टोल विकास संस्था, वडा कार्यालय तथा स्थानीयवासीबाट माग भएका योजनालाई बजेट विनियोजन गर्न नसके पालिकाले प्रत्येक बर्ष नीति तथा कार्यक्रम पुस्तकमा योजना माग संग्रहमा समावेश गर्ने गरेको भए पनि अर्को आर्थिक बर्षमा ती योजनालाई प्राथमिकतामा नराख्ने गरेको पाइएको हो ।