२०८३ बैशाख २० गते , आईतबार

स्व. पत्रकार नेत्र पाठकको परिवारलाई महासंघद्वारा १ लाख प्रदान

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २८ गते , शुक्रबार
स्व. पत्रकार नेत्र पाठकको परिवारलाई महासंघद्वारा १ लाख प्रदान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बिर्तामोडस्थित महासंघको कार्यालयमा आज (शुक्रबार) आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व. पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हुन् ।

पाठक परिवारको तर्फबाट बुहारी हिमाले महासंघ झापाको काम अनुकरणीय भएको बताउदै धन्यवाद ज्ञापन गरिन् ।

महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम् एकलाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ । गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलोपटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष तथा कोषका सदस्य सचिव रञ्जित प्रसाईले जानकारी दिए ।

पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

पाठकको गत जेठ ३१ गते निजी निवास बिर्तामोड–४, मेघाबारीमा निधन भएको थियो । 

सम्बन्धित समाचार