२०८३ बैशाख २० गते , आईतबार

छुवाछुतको घटनामा माफी मिनाहा दिन दबाब दिएको भन्दै खबरदारी

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २७ गते , विहीबार
छुवाछुतको घटनामा माफी मिनाहा दिन दबाब दिएको भन्दै खबरदारी

बिर्तामोड । संविधानले नै गम्भीर सामाजिक अपराधको रुपमा परिभाषित गरेको छुवाछुत र भेदभावपूर्ण व्यवहारको घटनालाई मिलापत्र गरी माफी मिनाहा दिन दबाब दिएको भन्दै खबरदारी गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी दलित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ४ वटा संघसंस्थाका प्रतिनिधीहरुले खबरदारी गरेका हुन् ।

भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछुत तथा भेदभावपूर्ण व्यवहार गरेको र उनीहरुलाई कारबाहीका लागि जाहेरी दिँदासमेत प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा दिनका लागि दबाब दिएको भन्दै उनीहरुले पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका हुन् । अभियुक्त मध्येका घिमिरेले ‘एका बिहानै बले कामीलाई देखेर लोधर लाग्यो भन्ने अभिव्यक्ति दिएको र सो घटनालाई श्रेष्ठले भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको उनीहरुको भनाई छ ।

उत्पिडीत दलित समुदायका संगठनका नेताहरुले घटना थाहा पाएपछि भदौ २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिँदा लिन नमानेको र प्रहरीलाई दबाब दिएपछि मात्र जाहेरी लिएको दलित मुक्ति मोर्चा झापाका अध्यक्ष सुरेश खातीले बताए । भदौ २५ गते अभियुक्तलाई पक्राउ गरिएको र छलफल गर्न पिडीत बलबहादुरलाई प्रहरीले खबर गरेको तर छलफल गर्ने बिषय नभएको हुँदा कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनु भनि पिडीतले भनेपनि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्लेलाई प्रहरीले अभियुक्त जिम्मा लगाएको जानकारी प्रहरीले गराएको उनले बताए ।

२६ गते अभियुक्तको पक्षमा भेला भएका राजनीतिक दलका प्रतिनिधी तथा सामाजिक अगुवाहरुले कानुनी कारबाही प्रक्रिया अगाडी बढाउँदा सामाजिक सद्भाव भड्कने भन्दै मिलापत्र गर्न दबाब दिएको पूर्व जिसस प्रमुख समेत रहेका दलित अगुवा सोमनाथ पोर्तेलले बताए ।

प्रहरीले अभियुक्तहरुलाई घटना भएको क्षेत्र इलाम भएको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा अभियुक्त र जाहेरी पठाएको बताइएको छ ।

बिहीबार विहान ५०/६० जनाको समुह जाहेरवाला बलबहादुर खातीको घरमा आई मुद्दा फिर्ता लिन दवाव दिएको पोर्तेलको भनाई छ । दवावमा पारि पिडीत बलबहादुरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर तर्फ लैजादै गर्दा प्रहरीले अभियुक्तहरुलाई म्याद थपका लागि जिल्ला अदालत ईलाम लगिसकेको जानकारी पाएपछि बलबहादुरलाई फर्काइएको भन्दै अभियुक्तहरुलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार