२०८३ बैशाख २० गते , आईतबार

घटनामा संलग्न विष्टद्वयलाई पक्राउ नगरे बुधबार मेची राजमार्ग बन्द गर्ने वाइसीएलको घोषणा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २५ गते , मंगलबार
घटनामा संलग्न विष्टद्वयलाई पक्राउ नगरे बुधबार मेची राजमार्ग बन्द गर्ने वाइसीएलको घोषणा

बिर्तामोड । आक्रमणको घटनामा संलग्नलाई पक्राउ नगरे वाइसीएल नेपालले मेची राजमार्ग बन्द गर्ने भएको छ । झापा बुद्धशान्ति वाईसीएल अध्यक्ष पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर-१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा नल्याएको भन्दै बुधबार मेची राजमार्ग बन्द गर्ने घोषणा गरेको हो ।
मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै वाइसीएलले आक्रमणमा संलग्न बिष्ट दाजुभाइलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 'हामीले निवेदन दिंदा पनि प्रशासनले पक्राउ गर्न चासो दिएको छैन,' वाइसीएल नेपाल झापा अध्यक्ष डेबिट शाही ठकुरीले भने, 'आजदिन भरमा पनि आक्रमणमा संलग्न बिष्ट दाजुभाइलाई पक्राउ गरी कानुनी दायरामा नल्याए भोलि मेची राजमार्ग बन्द गर्छौं र अन्य आन्दोलनको कार्यक्रम अघि सार्छौं ।'  
मेची राजमार्ग सडक खण्ड अन्तर्गत मेचीनगर-१२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियार सहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले जनाएको छ ।
ट्याक्सी चालकले अनियन्त्रित ढङगले सवारी चलाएको र सो सवारी चालकलाई शेर्पाले रोक्न लगाई सम्झाईबुझाई गरेसँगै घटना मिलेको अवस्थामा निजहरु पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाई नबिन विष्टले एक्कासी घरेलु हातहतियार, बाईकको हेल्मेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले जानकारी दिए । शेर्पाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले बताए । 

सम्बन्धित समाचार