२०८३ बैशाख २० गते , आईतबार

तीन जना बेसहाराको बिर्तामोडबाट उद्वार

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २४ गते , सोमबार
तीन जना बेसहाराको बिर्तामोडबाट उद्वार

बिर्तामोड । झापाको बिर्तामोडबाट तीन जना वेसहारा नागरिकको उद्वार गरिएको छ ।
मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्वार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्वार गरेका हुन ।
बिर्तामोड ४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षीय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षीया विनिशा गौतमलाई उद्वार गरिएको हो ।
बृद्ध तिम्सिना विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्वार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।
यस्तै सिं सैनिकमोडको एउटा निर्माणाधीन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था कमजोर रहेका सिंले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।
यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्वार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।
उद्वार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए ।
मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्वार गरिएका हुन् ।

सम्बन्धित समाचार