यस बर्षको दशैँमा पानी पर्ने सम्भावना कति ?
सामान्यतः मनसुन बाहिरिने भनी तोकिएको मितिको आसपास पानी पर्ने क्रम जारी रहने गरेको विगतको अनुभव छ । त्यसमाथि यस पटक ‘ला नीन्या’ भनिने मौसमी प्रक्रियाका कारण मनसुन बाहिरिइसक्दा समेत सुक्खा भइहाल्ने अवस्था कम हुने मौसम अधिकारीहरूले बताएका छन् ।
‘ला नीन्या’ सक्रिय हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ । नेपाली अधिकारीहरूले वर्षायामअगावै यस वर्ष सरदर भन्दा बढ्ता वर्षा हुने बताएका थिए ।
भूमध्यरेखीय पूर्वी अथवा मध्यप्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै ‘ला नीन्या’को अवस्था भनिन्छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर मनसुन भित्रने र बाहिरिने प्रक्षेपण गरिएको मिति नै पनि यकिन रूपमा नमिल्ने तर चारपाँच दिन तलमाथि जहिल्यै हुने गरेको बताउँछिन् ।
यो वर्ष नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएको दिन अर्थात् अक्टोबर २ घटस्थापनाको अघिल्लो दिन रहेको छ । ‘अक्टोबर ३ तारिकबाटै शरद् ऋतुजस्तो आकाश खुलिहाल्छ भन्ने पनि होइन । तर सेप्टेम्बरको तेस्रो साताबाट पानी पर्ने क्रम उल्लेख्य रूपमा कम हुँदै जान्छ,’ उनले भनिन् ।
नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । अघिल्ला दुई वर्ष यो मिति मध्यअक्टोबरसम्मै पुगेको छ ।
विवरण राख्न थालिएको सन् १९६८ यता सन् २०१३ मा नेपालबाट सबैभन्दा ढिलो गरी १९ अक्टोबरमा मनसुन बाहिरिएको थियो ।
त्यसैले विभागको जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ डिभिजनल मौसमविद् विभूति पोखरेल पछिल्ला मौसमी प्रवृत्तिले दशैँसम्मै पानी पर्न सक्ने देखाएको बताउँछिन् ।
‘केही पछि अझ स्पष्ट सङ्केत देखा पर्छन्। हाम्रोतिर मात्र नभएर मनसुनी प्रभाव हुने अन्य क्षेत्रहरूबाट समेत मनसुन बाहिरिने सङ्केत जेजसरी देखा पर्छ, त्यसलाई हेरेर समेत यहाँ त्यसको विश्लेषण गरिन्छ,’ पोखरेल भन्छिन् ।
मनसुनको प्रभाव रहने भारतको राजस्थानतिरबाट बाहिरिन थाल्ने क्रम सुरु भएपछि नेपालमा स्पष्ट सङ्केत देखिन थाल्ने बताइन्छ ।
‘अहिलेको समय मनसुन सक्रिय भएको समय हो र कहीँकतैबाट समेत त्यो बाहिरिएको छैन । त्यसैले अहिल्यै धेरै भन्न सकिने अवस्था रहन्न,’ पोखरेलले भनिन् ।
दुई वर्षअघिको दशैँमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो ।
पोखरेल भन्छिन्, ‘टीकाकै दिन परि नहाले पनि घटस्थापनापछिका कुनै दिन पानी पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’
अर्का एक मौसमविद् भने मनसुनको बाँकी अवधिमा ठूलो वर्षा हुने अवस्था अब खासै नरहेको भन्दै दशैँको मौसम ‘घमाइलो’ नै हुने देखिने बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल भन्छन्, ‘अबका दिनमा मनसुनको ठूला प्रणाली आउने क्रम लगभग कम भइसकेको छ । नेपालमा सरदरभन्दा बढि पानी पर्ने भनिए पनि त्यो निकै धेरै नभईकन एकदुई सय मिलिमिटर मात्र बढ्ता हुन सक्छ ।’