पाँचथर विष्फोट घाइतेको उपचारमा सरकारी बेवास्ता, नेता आङबोद्वारा उपचार र राहत माग
बिर्तामोड । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोटमा परी बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ । तर, उनीहरुको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन ।
‘कोशी अस्पतालमा चिकित्सकले सिटीस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएछ, काठमाण्डौ लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ,’ सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘दुबै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौं ।’
उनका अनुसार दुबै बालकलाई काठमाण्डौ विमानस्थलसम्म पुर्याउने जिम्मा स्थानीय सरकारले लिएको थियो । फालेलुङ गाउँपालिकाले भद्रपुरदेखि काठमाडौंसम्मको हवाई टिकट काटिदिएको थियो । काठमाण्डौको विमानस्थलबाट भने सिविनले उपचारका लागि कीर्तिपुर अस्पतालसम्म र्पुयाएको छ । प्रदेश र संघ सरकारले भने सहयोग गरेको जानकारी नभएको उनले बताए ।
‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिएका थिए । तर पाँचथर बम विष्फोटको घटनाका घाइते र मृतकका परिवारका लागि कुनै कदम नचालेको भन्दै कोशी प्रदेश सरकारको आलोचना भएको छ ।
यता नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले घाइतेहरुको उपचार र मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिन माग गरेका छन् । उनले लिखित रुपमा घाइतेहरुको निःशुल्क उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन मुख्यमन्त्री तथा प्रदेश सरकार समक्ष माग गरेका हुन् ।‘संसद बैठकमा मैले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिका लागि कुरा उठाएको छु, सरकारलाई लिखित रुपमा पनि आग्रह गरेको छु,’ उनले भने, ‘तर सरकारले अझै केही गरेको छैन, भाइरलको पछि दौडिरहेको छ । भाइरलको पछाडि सरकार, मन्त्री सांसद सबै लागेका छन् । अरु प्रकाश खोज्नतर्फ लाग्नु पर्ने हो नि, त्यस्ता प्रकाश त कति धेरै होलान् ।’
घाइते बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाण्डौ पठाइएको छ । बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाण्डौको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।