बिहीबार साँझ परेको पानीका कारण धरानमा एक बालकको मृत्यु
बिर्तामोड । धरानमा बिहीबार साँझमा परेको भारी वर्षाका कारण धरान–१७ मा ड्रेनमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ । धरान–११ मंगलबारेस्थित ऐश्वर्य मार्गको ड्रेनको भेल बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो ।
मृतक लिम्बू धरान–११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको र घर फर्कँदै गर्दा ड्रेनको भेल बाढीले बगाएको धरान–१७ का वडा सदस्य मनिष विष्टले जानकारी दिए ।
बाढीले बगाएका बालकको शव धरान–१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुलबाट एक सय मिटर उत्तरतर्फ फेला परेको धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले बताए ।
भारी वर्षाका कारण धरान उपमहानगरपालिका छेउमा रहेको खहरे खोलामा पानीको बहाव बढी भएका कारण उपमहानगरपालिका गेट अगाडीको सडक समेत भासिएको छ भने धरान–१३ का खहरे खोलाहरूमा पानीको बहाव बढी भएर सडकमा ढुङ्गा र गिट्टी थुपारेको छ ।