फोनिज झापाले मनायो २५औँ स्थापना दिवस
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले २५औँ स्थापना दिवस मनाएको छ । आइतबार झापाको बिर्तामोडमा एक कार्यक्रम गरी फोनिजले रजत बर्ष मनाएको हो ।
कार्यक्रममा तत्कालिन अनिज झापाका संस्थापक अध्यक्ष दिपीन राईले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणी सापकोटाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच बिषयक अन्तरक्रियासमेत गरिएको थियो ।
कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्न आदिवासी जनजाति पत्रकारहरु एक भएर लाग्नु पर्ने बताए । उनीहरुले आदिवासी जनजातिहरुले उठाएको पहिचानको मुद्धालाई निश्कर्षमा पुर्याउन फोनिजकर्मीहरुले कलम चलाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा दलित पत्रकार संघ झापाका अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, समाजवादी प्रेस संगठनका झापा अध्यक्ष शम्भुजित दाहाल, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार सुब्रत न्यौपाने, पत्रकार महासंघ झापा सचिव डिकेश लामा, अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोनिज झापाकी अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवान प्रमुख अतिथी रहेका थिए । फोनिज झापाका सचिव तिलक योञ्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।