आँबुखैरेनी बस दुर्घटना : २५ जनाको शव विमानमार्फत भारत लगियो
चितवन । शुक्रबार पोखराबाट काठमाण्डौ आउने क्रममा तनहुँको आँबुखैरनीस्थित मस्र्याङ्दी नदीमा खस्दा मृत्यु भएकाहरुको शव विमानमार्फत भारत लगिएको छ । भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएको भारतीय सेनाको विमान शनिबार २५ जनाको शव लिएर फर्किएको हो ।
शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उक्त विमान भरतपुरबाट शनिबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यको नासिकतर्फ उडेको छ ।
प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गोरखपुरका हुन् ।
भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि सोही विमानमार्फत फर्केका छन् ।