अस्पतालबाट भागेका थुनुवा पक्राउ, थप सजाय हुन सक्ने
बिर्तामोड । चार दिनअघि उपचारको क्रममा बिर्तासिटी अस्पतालबाट हतकडी फुस्काई फरार भएका थुनुवा बिशाल राईलाई प्रहरीले आज पक्राउ गरेको छ । उनलाई बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कबाट पक्राउ गरिएको हो ।
अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा उनलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा नम्बर ३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड १ मा डेरा गरी बस्ने राई हतकडी फुस्काई फरार भएपछि खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो ।
अनुसन्धानको क्रममा रहेका राई फरार भएपछि उनलाई थप सजाय हुन सक्ने प्रहरीले जनाएको छ । उनी भदौ २ गते राती बिर्तामोड पश्चिम बसस्टेण्डबाट १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई प्रहरीले म्यादथप गरी इप्रका अनारमनीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।