भारतीय राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते, उपचारप्रति सन्तुष्ट
काठमाण्डौ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूलाई भेटेकी छन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका उनीहरुलाई भेटेकी खड्सेले उपचारप्रति सन्तोष व्यक्त गरेकी छन् ।
शुक्रबार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिब साँढे ११ बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छन् ।