आँबुखैरेनी बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
झापा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाण्डौका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मस्र्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सीडीओ गौतमले भने, ‘सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो ।’
मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटना अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सीडीओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगो लागिसकेको छैन ।
सो बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्टस होटलमा बसेर काठमाण्डौ हिँडेका थिए ।