गायकद्वय जोशी र कामतलाई सप्तक संगीत विद्यालयद्वारा श्रद्धाञ्जली अर्पण
बिर्तामोड । स्वर्गीय गायकद्वय एलपी जोशी र गुरुदेव कामतलाई सप्तक संगीत विद्यालयले श्रद्धाञ्जली अर्पण गरेको छ । झापाको बिर्तामोडस्थित विद्यालयको हलमा गायकद्वयको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
कार्यक्रममा स्वर्गीय एलपी जोशी र गुरुदेव कामतको फोटोमा माल्यार्पण गरिएको थियो । सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले जोशीको सम्झनामा ‘ओल्लो खोलो पल्लो खोलो ……’ र ‘रिटिङ रिटिङ र्याई र्याई ……’ बोलको गीत गाएका थिए । त्यस्तै गुरुदेव कामतका शिष्य गायक ह्यारी दाहालले कामतको पहिलो रेकर्ड भएको गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतीय अतिथी कलाकारहरु अमानो मनिष, बलराम श्रेष्ठलगायतले विविध प्रस्तुती दिएको विद्यालयका संस्थापक सरोज वत्सले जानकारी दिए ।
विद्यालयका सञ्चालक सञ्जिवनी पौड्यालले संयोजन गरेको कार्यक्रममा विद्यालयका संरक्षक डा. कुमार सुवेदी, संस्थापक वत्सले अतिथी एवम् कलाकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
विद्यालयका संस्थापक सदस्य कृष्ण अधिकारीको अध्यक्षता एवम् वरिष्ठ गायक हस्त परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी जीना अधिकारीले गरेकी थिइन् भने अतिथीहरुलाई विद्यालयका अध्यक्ष एवम् संस्थापक वत्सले स्वागत गरेका थिए । विद्यालयका संस्थापक संरक्षक डा. सुबेदीले विद्यालयका गतिविधि एवम् उपलब्धिका बारेमा प्रकाश पारेका थिए ।