दुर्घटनामा घाइते दुई जनाको मृत्यु, एकको पहिचान खुल्न बाँकी
बिर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मेचीनगर-९ का २५ बर्षीय सागर मेचे र अर्का एक जनाको मृत्यु भएको हो ।
मेचे मोटरसाइकलमा सवार थिए भने पहिचान खुल्न बाँकी मृतक पैदलयात्री रहेको प्रहरीले जनाएको छ ।
गएराति ८:३० बजे मेचीनगर नगरपालिका वडा नं. १३ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा पहिचान खुल्न बाँकी ३५-३६ बर्षका पैदलयात्री, मोटरसाइलमा सवार मृतक सागर र मेचीनगर ९ का २९ बर्षीय मन्दिप मेचे घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा पैदलयात्रीको मंगलबार राती १०:३५ बजे र सागरको आज २:०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्का घाइते मन्दिप मेचेको अवस्था सामान्य रहेको जनाइएको छ । मृतक पैदलयात्रीको शव बीएण्डसी अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।