इलाम-झापाद्वारा १ लाख बढीलाई सर्बत वितरण
बिर्तामोड । इलाम-झापा मैत्री समाजले १ लाख बढीलाई सर्वत, पानी तथा मोही वितरण गरेको छ । समाजले साउन महिनामा अर्जुनधारा जलेश्वर धाममा जल चढाउन आउने एक लाख बढी भक्तजनहरुलाई पानी, सातु, सर्वत तथा मोही वितरण गरेको हो ।
मैत्री समाजले विगतदेखि नै साउनको प्रत्येक सोमबार जलेश्वर धाममा सर्वत तथा पानी वितरण गर्ने गरेको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् । सोमबारै पिच्छे पालो मिलाएर मैत्री समाजको बुद्धशान्ति, अर्जुनधारा, भद्रपुर, बिर्तामोड र जिल्ला समितिले सो कार्यक्रम गर्ने गरेको समाजका उपाध्यक्ष नरेश कर्माचार्यले बताए ।
अन्तिम सोमबार अर्जुनधारा नगर समितिको पालो रहेको नगर समिति अध्यक्ष परशुराम खरेलले बताए । खरेलका अनुसार बिहानै टाढा टाढाबाट आएर गर्मीमा लामो समय पर्खिएर जल चढाउने भक्तजनहरूको आवश्यकतालाई मध्यनजर गरी सर्बत वितरण गर्ने गरिएको हो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष श्याम खड्गी, अर्जुनधारा सचिव निशा अधिकारी, जिल्ला समितिका रेशबहादुर बस्नेत, बिमला पौडेल, बुद्धशान्ति अध्यक्ष डिल्ली नेपाल, बिर्तामोड नगर अध्यक्ष अन्जु लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
इलामबाट झापा आएर स्थायी तथा अस्थायी बसोबास गरिरहेकाहरूको परोपकारी संस्था इलाम- झापा मैत्री समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।