३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई कुलमानले ४७ अर्ब नाफामा पुर्याए
बिर्तामोड । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष ०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता घाटाका ती दिन फर्केर हेर्नु नपरेको घिसिङले जानकारी दिए । उनका अनुसार आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै सुरु भएको प्राधिकरणको नाफाको इतिहास गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको घिसिङले जानकारी दिए ।
उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूणर् रहेको उनले बताए । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए ।
यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूणर्रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको घिसिङले बताए ।
विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको बताए ।
आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताए । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । उनका अनुसार घर-घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ ।