एयर डाइनेस्टी उडेको तीन मिनेट मै दुर्घटनाग्रस्त
काठमाण्डौ। नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाण्डौबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।
एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।
डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।
डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।