१२ बर्ष कैद सजाय तोकिएका कैदी अस्पतालबाट फरार
झापा । जबर्जस्ती करणी मुद्धामा जेल सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।
बिरामी भएपछि उपचारका लागि उनलाई कोशी अस्पताल भर्ना गरिएको थियो । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ ।
भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । उनी अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।