सौर्य एयरका क्याप्टेन शाक्य कसरी बाँचे ?
बिर्तामोड । बुधबार त्रिभुवन विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एयरको जहाजमा सवार १९ यात्रुमध्ये १८ जनाको मृत्यु भयो । तर क्याप्टेन मनिषरत्न शाक्य भने बाँच्न सफल भएका छन् । सी चेकका लागि पोखरा उडेको सो विमानमा कर्मचारी र तिनका परिवार सवार थिए ।
विहान ११ बजेर ११ मिनेटमा विमानस्थलबाट उड्ने बित्तिकै रनवेको पल्लो छेउमा बजारिएको जहाजका क्याप्टेन बाँच्नुलाई धेरैले अचम्म र खुशी मानेका छन् । जमिन छोडेर आकाशिएको जहाज एक्कासी जमिनमा बजारिँदा धुँवाको मुस्लो देखिएको भिडियो सामाजिक सञ्जालमा यति बेला भाइरल बनेका छन् ।

जहाजमा सवारमध्ये एक जनामात्र बाँच्दा धेरैलाई आश्चर्यसमेत लागेको छ । शाक्यलाई उद्धार टोलीले करिब २३ मिनेट पछि उद्धार गरिएको बताइएको छ । उनको यतिबेला केएमसी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जब जहाज भुईमा बजारियो तब घस्रने क्रममा जहाज नजिकै रहेको कन्टेरमा ठोक्किन पुग्यो । जहाजको अगाडीको भाग कन्टेनरमा ठोक्किएर ककपिटको केहि भाग त्यहिभित्र अड्कियो । बाँकी जहाजको भाग गोठाटारतिरको खाल्डोमा उछिट्टिन पुग्यो । कन्टेनरभित्र ककपिटसँगै क्याप्टेन शाक्यपनि अड्किए ।
जहाजको बाँकी भागमा आगलागी भयो तर विमानस्थलकै छेउमा दुर्घटना भएका कारण उद्वार चाँडो भयो र आगो क्याप्टेन भएको ठाउँसम्म आइनपुग्दै उनको घाइते अवस्थमा उद्वार भयो । उद्वार टोलीले क्याप्टेन शाक्यलाई रगताम्य भएको अवस्थामा कन्टेनरबाट निकालेर अस्पताल पठाएका थिए ।
उनको यति बेला केएमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको आँखा मास्तिरको भाग, स्पाइनलमा चोट लागेको छ । अस्पतालले उनी खतरामुक्त रहेको जानकारी दिएको छ ।
अनुभवी पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन् । सन् २००९ बाट उडान थालेका शाक्यले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए । सन २०२२ देखि शाक्यले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा काम गरेका थिए । क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्डसमेत पाएका थिए ।