सौर्य एयर दुर्घटना : ७ शवको सकियो पोष्टमार्टम
झापा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि मात्रै आफन्तलाई बुझाइने छ । शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भइरहेको बताइएको छ । एउटा शव पोष्टमार्टमका लागि कम्तीमा चारघण्टा समय लागिरहेको अस्पतालले जनाएको छ ।
हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेण्डमै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो। पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्वार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।