मृगौला पिडीत लिम्बूलाई माओवादी नेता आङ्बोद्वारा सहयोग रकम हस्तान्तरण
बिर्तामोड । लामो समयदेखि मृगौला रोगबाट पिडीत सागर लिम्बू (सक्कल)लाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले सहयोग रकम हस्तान्तरण गरेका छन् । सिदिङ्वा गाउँपालिका वडा नम्बर ४ ताप्लेजुङ निवासी लिम्बूलाई शनिबार रकम हस्तान्तरण गरिएको हो ।
नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानले पठाएको सहयोग रकम आङ्बोले बिर्तामोडस्थित पार्टी कार्यालयमा हस्तान्तरण गरेका हुन् । लिम्बूलाई १ लाख ३४ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिएको थियो । सरिना किराँती राईको समन्वय र प्रवास संगठनका केन्द्रीय सदस्य पुष्प आङ्देम्बेको अगुवाईमा १ लाख २९ हजार पाँच सय रुपैँया संकलन गरी आङ्बोमार्फत पठाएका थिए ।
लिम्बूलाई यस अघि नै नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिले २० हजार रुपैँया सहयोग गरेको सचिव गणेश कालिकोटेले जानकारी दिए । लिम्बूले लामो समय जनमुक्ति सेनामा काम गरेका थिए ।
हप्तामा तीन पटक ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा डाइलाइसिस गराई रहेको लिम्बूले बताए । उक्त रकम आफ्नो लागि ठूलो सहयोग भएको भन्दै लिम्बूले सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिए । मासिक १५ हजारमाथि खर्च हुने गरेको बताउँदै लिम्बूले अन्य महानुभावहरुलाई सहयोगका लागि अपिल गरे । हाल उनी पुहाँतुबारीमा विष्णु लुईटेलले निशुल्क उपलब्ध गराएको घरमा बसेर उपचार गराईरहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, प्रदेश सदस्य तथा झापा सह इञ्चार्ज सीपी कडरिया, कुवेर श्रेष्ठ, जिल्ला संयोजक राजु आचार्य (अग्नी)लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहको थियो ।