पहिरोमा पुरिएर पोखरामा एकै परिवारका ७ जनाको मृत्यु
पोखरा । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पोखरा-महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको शर्माले बताए ।
मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।