२०८३ बैशाख २० गते , आईतबार

मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण दुईवटा बस त्रिशुलीमा खस्यो, ६५ जना बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८१ असार २८ गते , शुक्रबार
मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण दुईवटा बस त्रिशुलीमा खस्यो, ६५ जना बेपत्ता

नारायणगढ । अविरल वर्षासँगै सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ । पहिरोका कारण मुग्लिङ-नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।

ती बसमा चालकसहित ६५ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाण्डौबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।

प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ । उनले  यकिन विवरण भने आई नसकेको बताए ।

पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिङ सडक आयोजनाले जनाएको छ ।

निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार