२०८१ जेष्ठ ६ गते , आईतबार

वैशाख २६ पछि कोशीमा कार्की नेतृत्वको सरकार नरहने कांग्रेसको निष्कर्ष

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २३ गते , आईतबार
वैशाख २६ पछि कोशीमा कार्की नेतृत्वको सरकार नरहने  कांग्रेसको निष्कर्ष

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार वैशाख २६ गतेपछि नरहने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । कांग्रेसकै नेताहरूका अनुसार बहुमत (५२ सांसद)ले प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गरेको आधारमा पनि अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिकताले दिँदैन ।
यद्यपि सार्वजनिक रूपमा कांग्रेसले मुख्यमन्त्रीलाई टिकिराख्न सहयोग गर्ने बताउँदै आएको छ । कोशी प्रदेश सभामा आइतबार कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले २५ गतेपछि परिस्थिति अर्कोतर्फ मोडिने स्पष्ट रूपमा बताए ।
‘२५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समयावधि छ । त्यसपछि उहाँको विवेकले के गर्नुहुन्छ, त्यसलाई हामीले समर्थन गर्ने हो,’ तामाङले भने ।
मुख्यमन्त्रीका लागि संविधानको धारा १८८ को उपधारा २ अनुसार २५ गतेसम्ममा विश्वासको मत लिने समय छ । २५ गतेसम्ममा पनि विश्वासको मत नलिए प्रदेश सभाबाट पारित भएको सङ्कल्प प्रस्ताव, संविधानको धारा १८८ को उपधारा २ देखाउँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने निष्कर्षमा कांग्रेस छ ।
‘२५ गतेपछि त प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुहोला नि । नत्र एमाले र माओवादीका ५२ सांसदको समर्थनमा किन सङ्कल्प प्रस्ताव पारित गर्नुहुन्थ्यो र ?,’ प्रमुख सचेतक तामाङले भने ।
कांग्रेसको यसअघि बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने धारणा राखेका थिए । तर, दलको बैठकले सरकार बचाउनुपर्छ भन्ने निर्णय गरेको थियो । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रका आधारभूत मान्यता विरुद्ध नउभिने तामाङको भनाइ छ ।
कांग्रेसकै अर्का सांसदले भने २५ गतेपछि मुख्यमन्त्री केदार कार्की अदालत जाने निश्चितजस्तै देखिएको बताए । ‘संविधानतः सङ्कल्प प्रस्ताव पारित भएपछि त्यो समयावधि कटेपछि प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गर्ने कुरा त कन्फर्म नै हो नि,’ उनले भने, ‘प्रक्रियागत ढङ्गले एमाले–माओवादी बलियो हुनका लागि यो गरिरहेको देखिन्छ । सरकारले बजेट ल्याउन चाहेर पनि अब पास हुँदैन । किनकि हामी अल्पमतमा छौँ । संसारको प्रचलन हेर्ने हो भने पनि बहुमत त अर्कोतिर छ नि । तर, आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सरकार प्रमुखले म यसरी संवैधानिक धारा समाएर अगाडि बढ्छु भन्दा हामीले सघाउनेमात्रै हो ।’

सम्बन्धित समाचार