भट्टराई कुलवंश प्रतिष्ठान झापाको साधारण सभा सम्पन्न
बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा शनिबार बिर्तामोडमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले कुल वंश प्रतिष्ठानले भट्टराई बन्धुहरूको संस्कार संस्कृति र परम्परालाई संरक्षण गर्दै बन्धुहरू बीचमा पारिवारिक सम्बन्ध स्थापित गराउन सफल भएको बताए । उनले प्रतिष्ठानको स्थापना भएपश्चात् छरिएर रहेका भट्टराई बन्धुहरू एउटै मूल थलोमा आउनुका साथै वंशावली प्रकाशन गरेर सबैलाई एउटै सूत्रमा बाँध्ने काम भएको जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार संयोजक एवं झापा जिल्लाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई , केन्द्रीय सचिव जीवराज भट्टराई, केन्द्रीय सदस्य चन्द्रा भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई, प्रतिष्ठानका कोशी प्रदेश अध्यक्ष चन्द्रबहादुर भट्टराई र बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा प्रतिष्ठानका झापा अध्यक्ष धर्मेन्द्र भट्टराईले झापा जिल्लाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन र उपाध्यक्ष एवं छोरी बुहारी सञ्जालका संयोजक शकुन्तला भट्टराईले महिला विभागको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले बीच प्रतिष्ठानको झापा जिल्ला कार्यालय स्थापना गर्ने उद्देश्यले बिर्तामोडस्थित नगर समितिको परिसरमा भवन निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । झापा जिल्लाका १९ वटा शाखा समितिबाट प्रतिनिधि तथा पर्यवेक्षक सहभागी उक्त साधारण सभालाई उपाध्यक्ष गिरिराज भट्टराईले स्वागत तथा सचिव चन्द्रप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।