प्रेस चौतारी नेपाल झापाले मनायो २६औँ स्थापना दिवस
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले २६औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । बिर्तामोड–७ स्थित शहिद नेत्र पार्कमा औपचारिक कार्यक्रम गरी प्रेस चौतारीले स्थापना दिवस मनाएको हो ।
कार्यक्रमकी प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पत्रकारीता स्वतन्त्र हुनु पर्ने बताइन् । जुनसुकै दल निकट आस्थाका संगठनमा आबद्ध भएको भएपनि पत्रकारले समाचार निष्पक्ष ढंगबाट लेख्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमका अतिथी तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले पत्रकार महासंघमा गलत ढंगबाट सदस्यता सिफारिस हुने गरेको गुनासो गरे । आस्था र व्यवसायिकता फरक कुरा रहेको बताउँदै लामाले पत्रकारले बिचार राख्ने नभई अरुको बिचारलाई सम्प्रेषण गर्नु पर्ने बताए ।
नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासंघका प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, बिर्तामोड वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल (अबिरल), नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजीना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागीहरुको आँखा जाँचसमेत गरिएको थियो ।
कार्यक्रममा केहि समय अगाडी बिरामी भएर जाति भएका पत्रकारहरु उद्धव पुरी, तुलसीप्रसाद निरौला र साबित्रा दाहाललाई प्रेस चौतारीले स्थापना गरेको उपचार कोषबाट सहयोग हस्तान्तरण गर्नुका साथै पत्रकार महासंघमा सिफारिस भएकाहरुलाई स्वागत गरिएको थियो ।
प्रेस चौतारी झापाको दोस्रो कार्यकालका अध्यक्ष तोयानाथ दाहाल उपेक्षितलाई सम्मान गरेको छ । उपेक्षित विदेशमा रहेका कारण उनका निकट मित्रलाई सम्मान पत्र र नगद २५ हजार रुपैँया हस्तान्तरण गरिएको थियो ।