गैर कृषक प्रतिनिधी आएको भन्दै कृषिथोकको निर्वाचन स्थगित
बिर्तामोड । स्थानीय तहबाट छनोट भएर आएका भनिएका कृषि प्रतिनिधिको विषयमा उजुरी परेपछि बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
निर्वाचन समितिले सूचना टाँसेर आज तय भएको कृषक प्रतिनिधि छनोटको निर्वाचन स्थगित भएको जनाएको हो ।
झापाका आठ स्थानीय तहबाट पाँचजनाका दरले छनोट भएर आएकामध्ये पाँचजना कृषक प्रतिनिधिका विषयमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ ।
बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाबाट कृषक प्रतिनिधि भएर आएका पाँचजनाविरुद्ध उजुरी परेको हो ।
बिर्तामोडका निरजकुमार ओली, अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले, कनकाईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलविरुद्ध उजुरी परेको हो ।
प्रत्येक स्थानीय तहले पाँचजना कृषक प्रतिनिधि सहभागी गराउनु पर्ने प्रावधान भए पनि गैरकृषकलाई सिफारिस दिएको भन्दै उजुरी परेको हो । कृषकले प्रतिनिधित्व गर्नुपर्नेमा गैरकृषकलाई प्रतिनिधि बनाएको भन्दै उनीहरुविरुद्ध उजुरी परेपछि निर्वाचन स्थगित भएको हो ।
कृषक प्रतिनिधि छनोटमा स्थानीय तहका प्रमुखले आफ्नो दलका मानिसलाई छानेर पठाउने गरेका छन् । उजुरी परेपछि सोमबार १२ बजेसम्म उजुरी परेका प्रतिनिधीले कृषक समूहबाट आधिकारिक सिफारिस ल्याउने समय दिइएको बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए । हाल स्थगित भएको निर्वाचन सोमबार १ बजेबाट शुरु हुने उनले बताए ।
कृषिथोक बजार व्यवस्थापन समितिमा कनकाई, बिर्तामोड, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र बाह्रदशी, हल्दिबारी र बुद्धशान्ति गाउँपालिकाका छनोट भएका प्रतिनिधिमध्येबाट मतदाता बन्ने व्यवस्था रहेको छ ।
यसअघि हिजो सम्पन्न व्यवसायीको निर्वाचनबाट तीनजना निर्वाचित भइसकेका छन् । व्यवसायीबाट इन्द्रजित चौधरी, पार्वती खतिवडा र खगेन्द्र महतो निर्वाचित भएका छन् । नौजना उम्मेदवारमध्ये उनीहरु निर्वाचित भएका हुन् । व्यवसायीबाट २७८ जना मतदाता रहेका थिए ।
व्यवसायीबाट तीन र कृषकबाट तीनजना निर्वाचित भएपछि छ जना मध्येबाट अध्यक्ष चयन हुने प्रावधान रहेको छ । व्यवस्थापन समितिको पदावधि तीन वर्षको हुनेछ । निर्वाचनका लागि कृषि विभागबाट दामोदर पोखरेल, अनुसा कार्की र उर्मिला शाही आएका छन् ।