बिरता लेडी जेसिजको पद हस्तान्तरण सम्पन्न, पत्रकार पाण्डे सम्मानित
बिर्तामोड । बिरता लेडी जेसिजको १९औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा बर्ष २०२३ की अध्यक्ष संगिता गिरीले बर्ष २०२४ की अध्यक्ष मेनुका ओलीलाई जेसिज चेन पहिर्याएर पद हस्तान्तरण गरेकी हुन् । ओली केहि दिन अघि सम्पन्न निर्वाचनबाट बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएकी थिइन् ।
कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार विनोद पाण्डे (कमल)लाई सम्मान गरिएको थियो । पाण्डेलाई नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो । पाण्डे आमसञ्चार डटकमका सञ्चालक/ समाचार प्रमुख हुन् ।
त्यस्तै बिरता लेडी जेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल ढकालद्वारा आफ्ना बुवा र ससुराको स्मृतिमा स्थापित यज्ञ–तीर्थ स्मृति पुरस्कार महिला अधिकारकर्मी तथा नेपाल मारवाडी महिला मञ्चकी राष्ट्रिय अध्यक्ष निर्मलाकुमारी शर्मा जोशीलाई प्रदान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईसहित ढकालको परिवारले नगद १० हजार एक सय रुपैँयासहित सम्मान पत्र प्रदान गरेका थिए ।
उत्कृष्ट जेसी सम्मान २०२३ जेसी प्रभा रायमाझीले प्राप्त गरिन् ।
कार्यक्रममा बर्ष २०२३ की अध्यक्ष गिरीले आफ्नो कार्यकालमा विभिन्न विधामा उत्कृष्ट बिरता लेडी जेसिजका सदस्यहरु सुमित्रा भट्टराई, प्रियंका उप्रेती, मुना ढुंगेल, निशा शाक्यलाई अवार्ड प्रदान गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथी प्रसाईले महिलाहरुले सामाजिक कार्यमा लाग्नु कठिन कार्य भएको बताइन् । पितृसत्तात्मक समाजमा घरव्यवहार सम्हालेर समाजको दायित्व निर्वाह गर्नु सजिलो नभएको धारणा व्यक्त गरिन् । उनले बिरता लेडी जेसिजले समाजमा गरेका परोपकारी कार्यको खुलेर प्रशंसा गरिन् ।
बर्ष २०२३ की अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव निशा शाक्यले सञ्चालन गरेकी थिइन् । तारा बस्नेतले सहभागीहरुलाई स्वागत गरेको कार्यक्रममा आस्था वाचन कविता ओली र जेसिज भिजन प्रियंका उप्रेतीले वाचन गरेकी थिइन् ।
कार्यक्रममा जेसिजका विभिन्न शाखाका अध्यक्षहरु, बिरता लेडी जेसिजका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।