सम्मानित भएको केहि दिनमै भेटियो कनकाईका पसलमा छ्याप्छ्याप्ती सूर्तीजन्य पदार्थ
बिर्तामोड । सूर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन, २०८० जारी गरेका कारण सम्मानित भएको कनकाई नगरक्षेत्रमा छ्यापछ्याप्ती सूर्तीजन्य पदार्थ भेटिएको छ । शुक्रबार नगरपालिकाले गरेको अनुगमनको क्रममा कनकाई ७ स्थित दुर्गापुरका पसलमा छ्यापछ्याप्ती सूर्तीजन्य पदार्थ भेटिएको हो ।
कनकाई नगरपालिकालाई पुष २६ गते नेपाल हृदय रोग निवारण प्रतिष्ठानले ३२औँ केन्द्रीय सभाको अवसरमा ललितपुरको बगैँचा रेष्टुरेण्टमा एक कार्यक्रमका बिच सम्मान गरेका थियो । नगरपालिकाको जम्बो टोली नै गएर थापेको सम्मानको चर्चा सेलाउन नपाउँदै सूर्तीजन्य पदार्थ छ्यापछ्याप्ती भेटिँदा सम्मान गर्ने संस्थामाथि समेत प्रश्न उठ्न थालेको छ । स्थलगत अनुगमन बिना नै पालिकालाई सम्मान गरेको भन्दै प्रतिष्ठानमाथि प्रश्न उठेको हो ।
शुक्रबार कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल नेतृत्वको टोलीले दुर्गापुरका होटल तथा किराना पसलमा अनुगमन गर्दा बण्डल–बण्डल चुरोट तथा सूर्तीजन्य पदार्थ फेला परेको थियो । उनीहरुलाई अनुगमन टोलीले सचेत गराएको थियो । नगरपालिकाले कानुन बनाएर कार्यान्वयनमा ल्याएपनि प्रभावकारी अनुगमनको अभावमा कानुन कार्यान्वयनमा चुनौति थपिएको हो । कनकाई नगरपालिकाको गेटकै पसलमा समेत सूर्तीजन्य पदार्थ बिक्री हुने र कर्मचारीहरुले समेत कार्यालयभित्र सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको स्रोतले बताएको छ ।
यता व्यवसायीहरु भने छिमेकी पालिकाका व्यवसायीका कारण आफुहरु मारमा परेको बताउँछन् । महेन्द्र लोकमार्गको अर्को भागमा छिमेकी पालिकाको पसलमा सूर्तीजन्य पदार्थ बिक्री हुने र पसल चल्ने तर आफ्नो पसलमा सूर्तीजन्य पदार्थ बिक्री निषेध गरिँदा ग्राहक नआउने र घर चलाउन समस्या भएको उनीहरुको गुनासो छ ।
सूर्तीजन्य पदार्थको सेवनले नगरबासीको स्वास्थ्यमा समस्या उत्पन्न नहोस भन्ने आशयका साथ नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरेको थियो ।