जनजाति महोत्सवको तयारी तीब्र
बिर्तामोड । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ ।
सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ९ देखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल निर्माण भइरहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टल रहने महासंघले जनाएको छ । त्यस्तै खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटीलगायतका व्यावसायिक स्टलहरु रहने महासंघका बिरेन मेचेले जानकारी दिए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहने बताए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट ब्याण्ड, सविन राईको ब्याण्ड, पूर्ण राईको ब्याण्ड, सपना सुमनको ब्याण्डसंगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने निश्चित भइसकेको मेला संचालक नारायण अधिकारीले बताए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।