पत्रकारिता क्षेत्रले समेट्नु पर्ने पक्षबारे झापामा अन्तरकृया
बिर्तामोड । पत्रकारिता क्षेत्रले समेट्नु पर्ने विविध पक्षबारे अन्तरकृया सम्पन्न भएको छ ।
बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापाको सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा अग्रज पत्रकार तथा झापाली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
महासंघ झापाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई अग्रज पत्रकारद्वय श्रवण शर्मा र तीर्थ कोइरालाले सहजीकरण गरेका थिए ।
अन्तरक्रियाको सुरुवातमा द्वन्द्व विश्लेषक तथा प्रकृति अधिकार अभियन्ता श्रवण शर्माले जुन चिजले हाम्रो स्वास्थ्य ध्वस्त बनाई रहेको छ त्यसलाई समाचारको विषय बनाउन नसकिएको धारणा राखे ।
सिडीइआर यूएसएका नेपाल प्रतिनिधिसमेत रहेका शर्माले कार्बनको उत्सर्जनबाट पृथ्वीमा जीवन धरासायी बन्दै गएको बताउँदै कार्बनडाईअक्साइडको उपभोग गर्ने बनजंगल बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
उनले हाम्रा खेतबारीमा उब्जने खाद्यबाली अस्वस्थ बन्दा मानव स्वास्थ्यमा पर्ने प्रतिकुल असर निरन्तर बढ्दै गएको बताए । पानीको स्रोत सुकेर नदीहरु सानो बन्दै जानुले जलवायु परिवर्तनको डरलाग्दो अवस्थाको संकेत गरिरहेको शर्माले बताए ।
कार्यक्रमका अर्का सहजकर्ता नेपाल प्रेस इनिस्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले नेपाली पत्रकारिता राम्रो र नराम्रो छान्नमै व्यस्त रहेको बताए ।
'हामीले हाम्रो भूगोल, संस्कृति र परम्परा भुल्दै गएका छौं,' कोइरालाले भने, 'सरकार र शासकको आलोचना गर्दै हाम्रो समय गइ रहेको छ । इतिहासका महत्वपूर्ण घटना र परिस्थितिबारे हामी अझै अनविज्ञ छौं ।'
कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार तारा बरालले पत्रकारिता राजनैतिक रङबाट माथि उठ्न जरुरी रहेको बताए । 'दलीय झुकाव राखेर समाचार लेख्ने प्रवित्तिले समाचारमा निस्पक्षता हराउँदै गएको छ, पत्रकार महासंघ झापाका पूर्व अध्यक्षसमेत रहेका बरालले भने, 'हामीले जस्का लागि समाचार लेख्न खोजी रहेका छौं लक्षित वर्गलाई हाम्रा समाचारले छुन सकि रहेका छैनन् । यसमा ध्यान पुर्याउन जरुरी छ ।'
अन्तरक्रियामा उठेका विषयवस्तु माथि सहभागीको तर्फबाट पत्रकार ज्ञानेन्द्र निरौला, पर्वत पोर्तेल, प्रदिप परियार, स्वस्तिका आचार्यलगायतले जिज्ञासा राखेका थिए ।
सो अवसरमा पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्यलगायतले धारणा राखेका थिए ।
महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र संचालन सचिव डिकेश लामाले गरेका थिए ।