काठमाण्डौ आउँदै गरेको बस दुर्घटना, १६ जना घाइते
काठमाण्डौ। दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ।
‘बस सडकबाट २५ मिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १६ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये दुई जनाको अवस्था गम्भीर छ । एक जनाको खोजी भइरहेको छ।’ दुर्घटनामा घाइते भएकाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।