२०८३ बैशाख २० गते , आईतबार

जम्बो टोली काठमाण्डौ गएको भन्दै कनकाई नगरको आलोचना

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
जम्बो टोली काठमाण्डौ गएको भन्दै कनकाई नगरको आलोचना

बिर्तामोड । शुक्रबार काठमाण्डौमा भएको एउटा सम्झौता र सम्मान कार्यक्रमका लागि कनकाई नगरपालिकाबाट जम्बो टोली सहभागि भएको भन्दै आलोचना भएको छ । कार्यक्रमको आवश्यकता भन्दा बढी जनप्रतिनिधी, कर्मचारी र अन्य गरी करिब दुई दर्जनको संख्यामा काठमाण्डौ गएपछि नगरपालिकाको आलोचना भएको हो ।

खुद्रे कार्यक्रमका लागि मेयर, उपमेयर, कार्यकारी प्रमुखसहित लावालस्कर जान आवश्यक थिएन,’ एक कनकाईबासीले भने, ‘बढीमा दुईदेखि तीन जना जाँदा हुने कार्यक्रममा जम्बो टोली जानुले लाजमर्दो अवस्था सिर्जना गर्यो । आवश्यकताभन्दा बढीको संख्यामा कार्यक्रममा सहभागिता हुँदा पालिकालाई आर्थिक भार पर्ने उनको भनाई छ ।

यता नगर प्रमुख राजेन्द्र पोखरेलले बुधबारसाँझ पाँच तारे होटल हयात प्लेसमा बसेको खर्च गोल्यान समूह अन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्रीले व्यहोर्ने र बिहीबारको होटल खर्च लगायत अन्य खर्च न्यूनतम ढंगमा पालिकाले व्यहोर्ने बताए । अहिले पालिकाले गर्ने खर्चको तुलानामा यो कार्यक्रमबाट कैयन गुणा बढी कनकाईबासीलाई भविष्यमा फाइदा पुग्ने नगरप्रमुख पोखरेलको भनाई छ ।

नगरप्रमुख पोखरेलको नेतृत्वमा गएको टोलीले शुक्रबार बिहान गोल्यान समूहको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँग व्यवसायीक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रबर्धन गर्ने गरी सम्झौता गरेको छ । कनकाईमा उत्पादित अग्र्यानिक कृषि उपज उक्त प्रालिले बजारीकरण गर्ने हुँदा कृषकलाई फाइदा पुग्ने पोखरेलले बताए । सम्झौता पत्रमा जनता एग्रो प्रालिका तर्फबाट उद्योगी पवनकुमार गोल्यानले हस्ताक्षर गरेका थिए ।

त्यस्तै बिहीबार नै भएको अर्को कार्यक्रममा कनकाई नगरपालिका सम्मानित भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले कनकाई नगरपालिकालाई सम्मान गरेको हो । सूर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन, २०८० जारी गरेका कारण कनकाई नगरपालिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानले ३२औँ केन्द्रिय सभाको अवसरमा बगैँचा रेष्टुरेण्ट जावलाखेलमा आयोजित कार्यक्रमका बिच कनकाई नगरपालिकालाई सम्मान गरेको हो ।

सम्बन्धित समाचार