खाद्यान्न ‘बोटदेखि ओठ’सम्म स्वच्छ हुनु पर्ने
बिर्तामोड । हामीले दैनिक खाने खाद्यान्न बोटदेखि ओठसम्म स्वच्छ हुनुपर्ने बताइएको छ । आज बिर्तामोडमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले त्यस्तो धारणा राखेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना र नारी सञ्चार गृह झापाको सहआयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले दैनिक उपभोग्य वस्तु उत्पादनको चरणदेखि प्रशोधन, ढुवानीहुँदै भान्सासम्म स्वच्छ हुनुपर्नेमा जोड दिएका छन् । खाद्यान्न स्वच्छ र गुणस्तरयुक्त बनाउन सबैले पहल गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीले बताए । उनले भौतिक, रसायनिक तथा एलर्जिक आदि कारणबाट खानेकुरा गुणस्तरहिन र आखाद्य बन्ने जानकारी गराए ।
कृषकहरुले प्रयोग गर्ने विषादी र पशुजन्य औषधीका अवशेष आदिका कारण खाद्य पदार्थ अस्वस्थ हुने कार्यालय प्रमुख वस्तीले जानकारी दिए । मानव स्वास्थ्यमा असर गर्ने रङ रोडामाइन बी मिसाइएको खाद्य पदार्थ बजारमा पाइने गरेको उनले सुनाए ।
अखाद्य वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योग तथा पसललाई नगद तथा जेल सजाय हुनुका साथै उद्योग बन्द गर्नेसम्म कारबाही गरिने उनले बताए । खानेकुरा खान योग्य भए नभएको बारे उपभोक्तापनि सचेत हुनुपर्ने भन्दै कार्यालय प्रमुख वस्तीले खाद्य वस्तुमा उत्पादन र उपभोग्य मिति, लेबल, उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर आदि उल्लेख भए नभएको हेर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बजारमा अखाद्य पदार्थ भेटिने थुप्रै गुनासो आउने तर डिभिजन कार्यालयमा सिमित जनशक्ति भएका कारण समयमा अनुगमन गरि कारबाही गर्न नसकिएको गुनासो गरे । उनले सबै पालिकाहरुले पहल गरी आवश्यक जनशक्ति व्यवस्थापन गरी अनुगमन कार्यालय छुट्टै स्थापना गरिनुपर्ने धारणा राखे । उपभोक्ताले स्थानीय र अग्र्यानिक उत्पादनमा जोड दिनुपर्ने उनले सुझाए । उपप्रमुख संग्रौलाले अखाद्य पदार्थको प्रयोगले मुटु, किड्नी, क्यान्सर जस्ता रोगीहरुको संख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरे ।
सहभागीहरुले सरकारले खाद्य पदार्थ स्वच्छ र गुणस्तरीय हुनुपर्ने बताएपनि धुम्रपान तथा मद्यपान उत्पादन गर्ने उद्योग सञ्चालनको अनुमती दिएर दोहोरो चरित्र देखाउने भन्दै आलोचना गर्नुका साथै कार्यालय प्रमुख वस्तीलाई विभिन्न बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष साबित्रा दाहालले आफ्ना धारणा राखेका थिए ।
डिभिजन कार्यालयका प्रमुख वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, उपभोक्ता, व्यवसायी, सरोकारवाला निकाय आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले स्वागत गरेकी थिइन् भने सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।