उवा संघ बिर्तामोडमा निरौला र भट्टराई आकांक्षी
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि उम्मेदवारको आकांक्षी बढ्दो छ । निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला र गोमा भट्टराई पनि उम्मेदवार बन्ने निश्चित छ ।
कुन पदमा उठ्ने भन्ने हालसम्म टुंगो नलागेपनि दुवैजना निर्वाचनको तयारीमा जुटेका छन् । न्यु मोबाइल एक्सेसरिजका सन्चालक युवराज निरौला बिगत १६ वर्ष देखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा सहकारीको लेखा संयोजक हुन् । निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायीक संस्था भएपनि हालसम्म व्यवसायी मैत्री हुन नसकेको उनको बुझाई छ । बजारलाई व्यवस्थित र थप चलायमान बनाउन आफ्नो उम्मेदवारी आवश्यकता रहेको भन्दै यस पटक आफु उम्मेदवार बन्ने उनले बताए । आकांक्षी निरौलाले कुन पदमा उम्मेदवारी रहने भन्नेकुरा टुंगो लाग्न बांकी रहेको बताए ।
त्यस्तै अर्का व्यवसायी गोमा भट्टराईले पनि वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताइन् । भट्टराईले आफु के पदमा उठ्ने भन्नेकुरा टुंगो नलागेपनि चुनावको तयारीमा लागेको जानकारी दिइन् । उद्योग वाणिज्य संघ बिर्तामोड व्यवसायीका समस्या भन्दा पनि स्वागत र विदाईका काममा मात्रै लागेको भट्टराईको गुनासो छ । लामोसमय देखि प्रगती पुस्तक भण्डार सन्चालन गर्दै आएकी भट्टराई सामाजिक कार्यमा पनि परिचित नाम हो । भट्टराई महिला उद्ममी संघ झापाको संस्थापक अध्यक्ष, विरता लेडी जेसीजको महासचिव हुंदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष, तारा नमस्ते वालग्रामकी कोषाध्यक्ष पदमा छिन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन फागुन १४ का लागि तय गरिएको छ ।