पोखरा यति एयर दुर्घटना : ‘फ्लापको ठाउँमा कन्डिसन लिभर’ तान्दा दुर्घटना
झापा । १ माघ २०७९ का दिन पोखरामा भएको नेपाली आकाशको सबैभन्दा भयाभह जहाज दुर्घटनामा मानवीय त्रुटि देखिएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ ।
दुर्घटनाको मुख्य कारण जहाजका दुवै इन्जिनका प्रोपेलर (पंख्या)हरु फेदर (९० डिग्री)मा गएको देखिएको छ । दुर्घटना जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार ‘कन्डिसन लिभर’लाई फेदर पोजिसनमा लैजादा इन्जिन चालु अवस्थामै रहन्छ, तर, त्यस अवस्थामा हावासँगको एंगल मिलाएर जहाजलाई अगाडि धकेल्ने क्षमता घट्छ ।
फेदर पोजिसनमा गएपछि ४९ सेकेन्डसम्म उडेको जहाज त्यसपछि भने कोल्टे मार्दै जमिनमा बजारिएको थियो । यो हुनुमा पाइलट इन कमाण्डले इन्जिनको इन्डिकेसनतर्फ ध्यान दिन नसकेको जाँच प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदन अनुसार पाइलटले ‘फ्लाप लिभर’लाई ३० डिग्रिमा तान्नु पर्ने थियो । तर जहाज उडाइरहेका पाइलटले ‘कसिन्डसन लिभर’लाई तानेर फेदरमा र्पुयाए । एटीआर जहाजको ककपिटमा फ्लाप लिभर र कसिन्डसन लिभर सँगै हुन्छन् । यसरी पाइलटबाट गल्ती हुनुमा गलत नियत ‘इन्टेन्सन’ भने कतै पुष्टि नहुने जाँच आयोगको निष्कर्ष छ ।