मेचीनगरमा प्रति गोटा २५०० रुपैँयामा इन्डक्सन चुल्हो वितरण शुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विद्युतीय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहिवारदेखि शुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन आज एक कार्यक्रमका बिच संविधान सभा सदस्य रविन कोइरालाले गरेका हुन् ।
मेचीनगर–८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको उच्चतम् प्रयोग अहिलेको आवश्यकता रहेको भन्दै विद्युतीय चुल्होको प्रयोग गर्नु राम्रो कार्य रहेको बताए । साथै विद्युत उत्पादन गर्न सक्ने क्षमता नेपालमा पर्याप्त रहेको बताउँदै उनले विद्युतीय चुल्होको प्रयोग उपयुक्त र प्रभावकारी हुने बताए ।
इपिसि नेपालले मेचीनगर क्षेत्रमा रहेको दुर्गेश्वरी कृषि सहकारी संस्था लि र संजिविनी महिला विकास संस्था मार्फत मेचीनगर ८ र ९ नम्बर वडाका ४ सय घरलाई इन्डक्सन चुल्हो वितरणकार्य आजदेखि शुरू गरिएको दुर्गेश्वरी कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा आएको ४ सय इन्डक्सन चुल्हो मध्ये मेचीनगर ८ मा २ सय र ९ नम्बरमा २ सय गरेर वितरण गिरने छ ।
बजार मुल्य १३ हजार ५ सय पर्ने इन्डक्सन चुल्हो, आवश्यक कुकर, कराई र प्लक समेत २ हजार ५ सयमा वितरण गरिरहेको सहयोगी संस्था इपिसि नेपालका रामप्रवेश शाहले बताए । उनले उक्त वितरण गरिएको इन्डक्सन चुल्हो प्राप्त गर्न घरमा अनिवार्य १६ एम्पियरको एमसीबी जडान भएको हुनुपर्ने बताए ।