मृत्यु दण्डको फैसला भएका सुवासलाई फर्कायो अभियानले
बिर्तामोड । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापा कनकाई नगरपालिका वडा नम्बर ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियान’ले नेपाल ल्याउन सफल भएको छ ।
आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन बर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैँया ब्लड मनी दिनु पर्नेे फैसला सुनाएका राउतलाई अभियानकर्मीहरुको पहलमा सकुशल नेपाल ल्याउन सकिएको अभियानका संयोजक तथा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उनले अभियानलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।
अभियानले आज पत्रकार सम्मेलन गरी सम्पूर्ण हिसाब सार्वजनिक गर्दै अभियान आज कै मितिदेखि समाप्त भएकोसमेत जानकारी गराएको छ ।
विभिन्न संघसंस्था तथा व्यक्तिहरुमार्फत अभियानलाई २० लाख २४ हजार ६५० रुपैँया प्राप्त भएको अभियानका सचिव युगल दवाडीले जानकारी दिए । कतार अदालतले ९० लाख रुपैँया ब्लड मनी तोकेपनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाख नगदमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाईले जानकारी दिए । उनले भने – ‘हामीले एउटा नेपाली विदेशी भूमिमा मारिनु हुँदैन भनेर त्यहाँको जनप्रतिनिधी, संघसंस्थाहरुमार्फत परिवारमा कुरा गरेर १५ लाख रुपैँया ब्लड मनी बुझाएर सुवासलाई नेपाल ल्याउन सफल भयौँ ।’ उनले अभियानको शुरुवातदेखि अन्त्यसम्म भएका गतिविधीका बारेमा चर्चा गर्दै कार्यक्रमको औचित्यता प्रष्ट्याएका थिए ।
राउतलाई नेपाल फर्काउने क्रममा धेरै पटक काठमाण्डौ, पिडितको परिवारमा आवात जावत, स्टेशनरी आदिमा खर्च भएको दवाडीले जानकारी दिए । अभियानले संकलित रकम मध्ये बचेको २ लाख ५० हजार रुपैँया स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण गरेको छ ।
राउतले आफुलाई फसाइएको दाबी गरे । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गथ्यौँ, म नुहाएर आउँदा कोठामा छुरी हानेर उनी लडेको देखेर मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागेको मलाई थाहा भएन तर छुरी मैले उनको शरिरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’ उनले आफु बाँचेर नेपाल फर्कने आशा नभएको बताए । आफुलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई राउतले धन्यवाद दिए । तीन बर्ष जेल सजाय काटेर राउत दुई हप्ता अघि नेपाल आएका थिए तर आएर उनी कतार मै हुँदा दिवंगत आमाको काम गर्नु परेका कारण हिसाव किताब फरफारकमा ढिलाई भएको अभियानले जनाएको छ ।
कार्यक्रममा बोल्दै कनकाई नगरप्रमुख राजेन्द्र प्रसाद पोखरेलले अभियानले अत्यन्तै ठूलो पुण्यको काम गरेको भन्दै धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्बूले एक कथन सुनाउँदै मानिस भगवान बन्न नसकेपनि भगवानको साथी बन्न सकिने बताए । ज–जसले अभियानलाई सहयोग गरेर सुवासलाई नेपाल फर्काउन सहयोग गर्नुभयो उहाँहरु सबै भगवानको साथी भएको भन्दै प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, पूर्व प्रदेश मन्त्री हिरा थापा, सुवास राउतको परिवार लगायतको उपस्थिती रहेको थियो ।
कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले स्वागत गरेको कार्यक्रम अभियानका सदस्य धर्मेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।