२०८३ बैशाख २० गते , आईतबार
कुखुरा फार्ममा आगलागी, १५ लाखको क्षति
बिर्तामोड । झापाको कनकाईमा कुखुरा फार्ममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । बुधबार राति ९:२० बजे कनकाई–५, तुलसीबारीमा महेन्द्र पराजुलीको कुखुरा फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट २ कठ्ठा क्षेत्रफलमा रहेको फार्ममा रहेका एक हजार कुखुराका चल्ला, २४० केजी दाना, ३ सय केजी मकै र १० मन धानसहित अन्य संरचना पूर्ण रुपमा जल्दा करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आगलागीको कारण पत्ता लागेको छैन । बिर्तामोड, कमल, शिवसताक्षीको दमकलको सहयोगमा स्थानीयबासी र प्रहरीले १०:४० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।