इलाम–झापा मैत्री समाजको वनभोज सम्पन्न, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा
बिर्तामोड । इलाम–झापा मैत्री समाजको वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजले शनिबार कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा वनभोज आयोजना गरेको हो ।
कार्यक्रममा ‘इलाम–झापा मैत्री समाज अक्षयकोष’का दाताहरुलाई सम्मान गरिएको थियो । आजको कार्यक्रममा सिता न्यौपानेबाट १० हजार, शशि कर्माचार्यबाट १० हजार, रबिन कार्कीबाट १० हजार, चन्द्र तिवारीबाट ५ हजार ५५५, टंक गजुरेलबाट २१ हजार र मञ्जु बिमली उप्रेतीबाट ५१ हजार रुपैँया प्राप्त भएको समाजका महासचिव दिनेश भट्टराईले जानकारी दिए । उनीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कोषको व्याजबाट सामाजिक कार्य गर्ने उद्धेश्य रहेको उपाध्यक्ष नरेश कर्माचार्यले बताए । केहि महिना अघि शुरु भएको अक्षयकोषमा हालसम्म करिब सात लाख रुपैँया संकलन भइसकेको इलाम–झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन ।
कार्यक्रममा वनभोज कार्यक्रममा संयोजक नरेश कर्माचार्य र सदस्य रेश बहादुर बस्नेतलाई समाजकी अध्यक्ष खत्रीले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रममा मनोरञ्जनात्मक हण्डीफोर, गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईलगायत एक सय पचास बढीको उपस्थिती रहेको थियो । झापामा बसोबास गरिरहेका इलामेलीहरुबिच भेटघाट गर्ने, रमाइलो गर्ने र चिनजान गर्ने उद्धेश्यले वनभोज आयोजना गरिएको कोषाध्यक्ष सीता न्यौपानेले बताइन् ।
इलामबाट झापा आएर स्थायीअस्थायी बसोबास गरेका मानिसहरुको संस्था इलाम–झापा मैत्री समाजले इलामेलीहरुलाई गोलबद्ध गर्ने, विभिन्न सुखदुखका कार्यहरुमा सहभागिता जनाउने, सामाजिक तथा परोपकारी कार्यहरु गर्दै आएको समाजका सचिव सागर रिजालले जानकारी दिए । समाजले बिर्तामोडसहित भद्रपुर, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा नगर समिति विस्तार गरिसकेको छ । समाजले झापाका सबै पालिकामा नगर तथा गाउँ समिति विस्तार गर्ने योजना बनाएको उनले रिजालले बताए ।
मैत्री समाजका लागि भवन निर्माण गर्न थापाले जग्गा निशुल्क उपलब्ध गराउने
इलाम–झापा मैत्री समाजको भवन निर्माणका लागि ई. महेन्द्र थापाले निशुल्क जग्गा उपलब्ध गराउने भएका छन् । थापाले बिर्तामोड क्षेत्रभित्र १० धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् । थापाले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा समाजलाई जग्गादान गर्ने बताए ।
जग्गासँगै ई. थापाले भवन निर्माणका लागि ५० हजार नगदसमेत सहयोग गर्ने घोषणा गरे । साथै समाजले स्थापना गरेको अक्षयकोषमा ५० हजार नगद सहयोग गर्ने थापाले उद्घोष गरे ।
भवन निर्माणका लागि रियल स्टेट व्यवसायी चन्द्र र मिरा कट्टेलले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।