अर्जुनधारा ६ बासीले निशुल्क रगत पाउने
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ का बासिन्दाले उपचारका लागि निशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा र वडा कार्यालयबिच निशुल्क रगत पाउने सम्बन्धि सम्झौता भएको हो ।
अर्जुनधारा ६ का बासिन्दाका लागि नेपाल रेडक्रस सोसाइटी भद्रपुर, उपशाखा बिर्तामोड र बीएण्डसीमा रहेको रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत उपलब्ध हुने वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले जानकारी दिए । सो सेवा उपलब्ध गराएबापत वडा कार्यालयले रेडक्रसलाई एक लाख रुपैँया उपलब्ध गराउने छ । उक्त सेवा लिनका लागि बिरामी सम्बन्धित वडाको बासिन्दा भएको कुनै कागजात पेश गर्नु पर्ने वडासचिव तिबेन्द्र अधिकारीले जानकारी दिए ।
जनमुखी सेवा प्रवाह गर्दै जानेक्रममा झापाका अन्य केहि पालिकाका वडाहरुले रेडक्रससँग उक्त सम्झौता गरेर वडाबासीका लागि निशुल्क रगत उपलब्ध गराउँदै आएका छन् ।